Section 4
प्रभुत्वशाली हैसियतको दुरुपयोग गर्न नहुने
: (१) प्रभुत्वशाली हैसियत भएको कुनै प्रतिष्ठानले आफूले वा आफ्ना सम्बद्ध निकाय मार्पmत कुनै वस्तु वा सेवाको उत्पादन वा वितरण गर्दा प्रतिस्पर्धा नियन्त्रण गर्ने उद्देश्यले त्यस्तो हैसियतको दुरुपयोग गर्न गराउन हुँदैन ।
स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “प्रभुत्वशाली हैसियत” भन्नाले कुनै वस्तु वा सेवा उत्पादन वा वितरण गर्ने कुनै व्यक्ति वा प्रतिष्ठानले एक्लै वा समान प्रकृतिका वस्तु वा सेवा उत्पादन वा वितरण गर्ने अन्य प्रतिष्ठानसँग आपसमा मिली त्यस्ता वस्तु वा सेवाको नेपाल राज्यभित्र वार्षिक उत्पादन वा वितरणको कम्तीमा चालीस प्रतिशत वा सोभन्दा बढी हिस्सा ओगटेको हैसियत वा त्यस्तो प्रतिष्ठानले एक्लै वा समान प्रकृतिका वस्तु वा सेवा उत्पादन वा वितरण गर्ने अन्य व्यक्ति वा प्रतिष्ठानसँग मिली सम्बद्ध बजार प्रभाव पार्न सक्ने वा आफ्ना निर्णय एकपक्षीय रुपमा कार्यान्वयन गर्न सक्ने हैसियत सम्झनु पर्छ ।
(२) उपदफा (१) को सर्वमान्यतामा प्रतिकूल हुने गरी प्रभुत्वशाली हैसियत भएको कुनै प्रतिष्ठानले नेपाल राज्यभर वा नेपाल राज्यको कुनै इलाकामा देहायको कुनै काम गरेमा प्रभुत्वशाली हैसियतको दुरुपयोग गरेको मानिनेछ ः-
(क) समान प्रकृतिको वस्तु वा सेवाको उत्पादन वा वितरण गर्ने अन्य व्यक्ति वा  प्रतिष्ठानले उत्पादन वा पैठारी गरेको कुनै वस्तु वा सेवालाई आफ्नो वस्तु वा सेवाको बजार प्रवेशमा रोक वा बन्देज लगाउने,
(ख) मनासिब कारण बिना बजारमा आपूर्ति कम हुन सक्ने गरी कुनै वस्तु वा सेवाको उत्पादन वा वितरण सीमित वा नियन्त्रण गर्ने वा त्यस्तो वस्तु वा सेवाको उत्पादन वा वितरण सम्बन्धी प्रविधिको विकासको लागि गरिने लगानीमा सीमित गर्ने वा रोक लगाउने,
(ग) समान भौगोलिक क्षेत्रको बजारमा मनासिब कारण बिना कुनै वस्तु वा सेवाको खरिद वा बिक्री मूल्य फरक कायम गर्ने वा त्यस्ता वस्तु वा सेवाको खरिद वा बिक्रीका थप शर्त तोक्ने,
(घ) आफूले उत्पादन वा वितरण गरेको वस्तु वा सेवाको प्रत्यक्ष वा परोक्ष रुपमा बजारमा प्रतिस्पर्धा हुन नसक्ने गरी मूल्य तोक्ने,
तर नेपाल सरकार वा प्रचलित कानून बमोजिम अधिकार प्राप्त अधिकारीबाट पूर्व स्वीकृति लिई सम्बन्धित प्रतिष्ठानले त्यस्तो वस्तु वा सेवाको मूल्य निर्धारण गर्न वा त्यस्तो कुनै वस्तु वा सेवाको मूल्यमा हेरफेर गर्न यस खण्डमा लेखिएको कुनै कुराले प्रतिकूल असर पारेको मानिने छैन ।
(ङ) मनासिब कारण बिना उपभोक्तालाई प्रतिकूल असर पर्ने गरी आफूले उत्पादन वा वितरण गरेको वस्तु वा सेवाको परिमाण कटौती गर्ने वा त्यस्ता वस्तु वा सेवाको गुणस्तर घटाउने,
(च) कुनै वस्तु वा सेवा उत्पादन वा वितरण गर्दा त्यस्तो वस्तु वा सेवासँग असम्बन्धित वा अनावश्यक शर्त तोक्ने ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै काम गर्दा सो उपदफा बमोजिमको काम हुन गएको प्रमाणित भएमा प्रभुत्वशाली हैसियतको दुरुपयोग गरेको मानिने छैनः-
(क) प्रभुत्वशाली हैसियत भएको कुनै व्यक्ति वा प्रतिष्ठानले उत्पादन वा वितरण गर्दै आएको वस्तु वा सेवाको गुणस्तर वृद्धि गर्न वा सोको प्राविधिकस्तर सुधार गर्नका लागि कुनै काम कारबाही गरेकोमा र त्यस्तो काम कारबाहीबाट प्राप्त हुने प्रतिफल त्यस्तो वस्तु वा सेवाको उपभोग गर्ने उपभोक्ताको हितमा हुने भएमा,
(ख) प्रचलित कानून बमोजिम कुनै व्यक्तिलाई प्राप्त भएको कुनै किसिमको बौद्धिक सम्पत्तिको संरक्षण वा प्रचलनका लागि त्यस्तो कार्य गरेकोमा ।
(४) यस दफाको प्रयोजनको लागि बोर्डले विभिन्न वस्तु वा सेवा उत्पादन वा वितरण गर्ने प्रभुत्वशाली हैसियत भएका प्रतिष्ठानको सूची तयार गरी समय समयमा सार्वजनिक रुपमा प्रकाशन गर्नु पर्नेछ ।
(५) उपदफा (४) बमोजिमको सूचीमा हेरफेर नभएसम्म त्यस्ता प्रतिष्ठानको प्रभुत्वशाली हैसियत कायम रहेको मानिनेछ ।